काठमाडौं । चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटरहित बनाउन चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ लागू गरिएको छ । चलचित्र सेन्सर बोर्डले नयाँ कार्यविधि लागू गर्दै अब चलचित्रलाई सेन्सरभन्दा पनि वर्गीकरणमा जोड दिने व्यवस्था गरेको छ ।
नयाँ कार्यविधिअनुसार अब चलचित्र सेन्सर गर्दा कुन उमेर समूहका दर्शकले हेर्न पाउने भन्ने विषयलाई स्पष्ट रूपमा वर्गीकरण गरी प्रमाणपत्र प्रदान गरिनेछ । कार्यविधिको दफा ५ मा चलचित्र वर्गीकरणसम्बन्धी व्यवस्था समावेश गरिएको छ ।
उक्त दफामा चलचित्रको विषयवस्तु, संवाद, दृश्य, बालबालिका तथा किशोर–किशोरीको मानसिकतामा पर्ने प्रभाव, हिंसा, यौन, नग्नता, लागूपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र मूल भावलाई आधार मानेर दर्शकको उमेर समूह तोकी चलचित्र सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने व्यवस्था गरिएको छ ।यस दफाअन्तर्गत चलचित्रलाई विभिन्न उमेर समूहअनुसार वर्गीकरण गरिएको छ ।
चलचित्र सेन्सर बोर्डका सदस्य कुबेर गिरीका अनुसार सेन्सर प्रक्रियालाई थप सहज र पारदर्शी बनाउन नयाँ कार्यविधि ल्याइएको हो । उनका अनुसार बोर्डमा हाल अध्यक्षदेखि सबै समितिका सदस्य नयाँ छन् र सेन्सर प्रक्रिया पनि नयाँ तरिकाबाट अघि बढाइएको छ ।
“हाम्रो टिम आएदेखि चलचित्र सेन्सर प्रक्रिया सहज बन्दै गएको छ,” गिरीले भने, “अब सेन्सरमा कैंची चलाइँदैन, वर्गीकरणमा जोड दिइन्छ ।” पछिल्लो समय कुनै पनि चलचित्रमा सेन्सर बोर्डले कैंची नचलाएको दाबी पनि उनले गरे ।
उनका अनुसार कतिपय निर्माता–निर्देशकले सेन्सरअघि नै आफूखुसी दृश्य काटेर ल्याउने र पछि सेन्सरले काट्यो भन्दै गलत प्रचार गर्ने गरेको गुनासो पनि सुनाए ।
नयाँ कार्यविधिले यसअघि रहेको त्यो व्यवस्था पनि हटाएको छ, जसअनुसार सेन्सर पास नभएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइन्थ्यो । अब सेन्सर बोर्डबाट जाँच पास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ ।यसअघि लागू गरिएको कार्यविधिका केही बुँदामा विवाद भएपछि नयाँ कार्यविधि ल्याइएको बोर्डले जनाएको छ ।
नयाँ कार्यविधिले सेल्फ सेन्सर (Self Censor) प्रणालीलाई पनि समेटेको छ । चलचित्रकर्मीले आफ्नै चलचित्र आफैं जाँच गरी सेन्सरका सम्भावित कमजोरी पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि बोर्डले विशेष फारमको समेत व्यवस्था गरेको छ ।
सेल्फ सेन्सर प्रणाली लागू भएपछि चलचित्र सेन्सर प्रक्रिया छिटो हुने, चलचित्रकर्मीले झेल्दै आएको अनावश्यक झन्झट कम हुने र सेन्सर बोर्ड तथा चलचित्रकर्मी दुवैको समय बचत हुने गिरीले जानकारी दिए ।
“सेल्फ सेन्सर प्रणाली लागू भएपछि चलचित्रकर्मीहरूले सेन्सर प्रक्रिया सहज भएको महसुस गरेका छन्,” गिरीले भने, “यसले सेन्सर बोर्ड र चलचित्रकर्मीबीच अनावश्यक विवाद पनि कम गर्नेछ ।”


