काठमाडौं — चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्म फिल्मको देशब्यापी कमाइको विवरण बाहिर ल्याएको छ ।साप्ताहिक बक्स अफिस रिपोर्ट (माघ २४ गते शनिबार राति ११ः५९ बजेसम्म) ले हालको घरेलु बक्स अफिसको सार्वजनिक गरेको हो ।
चन्द्र पन्त निर्देशित चलचित्र ‘आबाट आमा’ रहेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले केवल १० दिनमै ४ करोड ८० लाख ९० हजार रुपैयाँ ग्रस कमाइ गरेको छ। दोस्रो आइतबारसम्म आइपुग्दा यसको कुल कमाइ ५ करोड २० लाख रुपैयाँ नजिक पुगेको सिनेपा बक्स अफिसको तथ्यांकले देखाएको छ। १ लाख ७६ हजारभन्दा बढी टिकट बिक्री हुनु दर्शकको विश्वास र आकर्षणको स्पष्ट संकेत हो।

पल शाह शीर्ष भूमिकामा रहेको चलचित्रमा विपना थापा र प्रदीप रावतले आमाबुबाको भूमिकामार्फत भावनात्मक गहिराइ दिएका छन्। निर्देशक चन्द्र पन्तले पारिवारिक संवेदनालाई मुख्य आधार बनाउँदै पुनः दर्शकको मन छुन सफल भएको देखिन्छ।
उता, मरिचमान श्रेष्ठ निर्देशित चलचित्र ‘गोबर गणेश’ बक्स अफिसमा आफ्नै गतिमा अघि बढिरहेको छ। शनिबारसम्म फिल्मले ४९ हजार ५३१ टिकट बिक्री गर्दै १ करोड ४० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। प्रचारभन्दा दर्शकको मौखिक प्रतिक्रियामा भर पर्दै फिल्मले स्थिर व्यापार गरिरहेको संकेत यसले दिन्छ।
त्यसैगरी, चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले पनि बक्स अफिसमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। हालसम्म फिल्मले १ करोड २९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ भने ४० हजार ८९९ टिकट बिक्री भएका छन्।
पहिले नै नेपाली बक्स अफिस इतिहासमा बलियो छाप छोडिसकेको चलचित्र ‘परान’ अझै पनि दर्शकको रोजाइमै रहेको छ। हालसम्म फिल्मले १७ करोड ८४ लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ, जुन नेपाली चलचित्र बजारका लागि उल्लेखनीय उपलब्धि हो। यस चलचित्रका ६ लाख ३३ हजार टिकट बिक्री भइसकेका छन्।
तर, सबै चलचित्रको यात्रा उत्साहजनक भने छैन। माघ १६ गते नै रिलिज भएको बलिराम चौहान निर्देशित चलचित्र ‘द ब्लु लाइट’ ले अपेक्षित गति लिन सकेन। प्रदर्शन अवधिभर फिल्मले जम्मा ३ लाख १९ हजार रुपैयाँ मात्र ग्रस कमाइ गरेको छ। चुनावी माहौलका कारण सिनेमा हेर्ने वातावरण नबनेको जनाउँदै चलचित्र तीन दिनमै हलबाट उतारिएको थियो। बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, आयुष्मान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानीजस्ता कलाकारको उपस्थिति हुँदाहुँदै पनि फिल्मले दर्शकसँग अपेक्षित भेट गर्न सकेन।
समग्रमा, यो साप्ताहिक बक्स अफिस रिपोर्टले एउटा कुरा स्पष्ट रूपमा देखाएको छ—आजका नेपाली दर्शक भावनात्मक कथावस्तु, बलियो प्रस्तुति र समयअनुकूल विषयवस्तु रोजिरहेका छन्। स्टार पावर मात्र पर्याप्त नभई, कथा र समयको सन्तुलन मिल्दा मात्रै बक्स अफिसमा चलचित्र चम्किने तथ्य पुनः प्रमाणित भएको छ।


