काठमाडौं — नेपाली चलचित्र ‘लालिमा’ आगामी फागुन २९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार सार्वजनिक गरेको पहिलो पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको हो।
फिल्ममा रोशनी कार्की शीर्ष भूमिकामा देखिनेछिन्। उनका साथमा उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला प्रमुख भूमिकामा रहेका छन्।
निर्देशक रोशन मिराजका अनुसार ‘लालिमा’ करिब तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित कथामा निर्माण गरिएको हो। फिल्ममा रोशनीले ‘लालिमा’को भूमिका निर्वाह गरेकी छन् भने उनकी आमाको भूमिकामा उषा रजक देखिनेछिन्।
फिल्मको कथाबारे निर्देशक मिराज भन्छन्, “लालिमाको कथा अत्यन्तै कठिन यात्रासँग जोडिएको छ। एउटा घटनापछि बोल्न नसक्ने उनकी आमा कारागार पुग्छिन्। आमालाई मुक्त गराउने प्रयासमा लालिमा सहरको कठोर र अँध्यारो संसारमा धकेलिन्छिन्, जहाँ उनले शारीरिक, भावनात्मक र मानसिक पीडासँग जुध्नुपर्छ।”
सार्वजनिक पोस्टरमा रोशनी कार्की एकल रूपमा प्रस्तुत छिन्। झ्यालको छेउमा संकटग्रस्त मुद्रामा बसेकी उनको दृश्यले पात्रको पीडा र संघर्षलाई संकेत गर्छ। सेतो कपडाले शरीर छोपेकी र लाली लतपतिएको अनुहारले लालिमाको जटिल जीवन यात्राप्रति जिज्ञासा पैदा गर्छ।
निर्देशक मिराजका अनुसार ‘लालिमा’ केवल पीडाको कथा मात्र नभई शोषण र संरचनागत अन्यायविरुद्ध नझुक्ने मानवीय साहसको कथा हो।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् भने कथा तथा पटकथा स्वयं निर्देशक मिराजले लेखेका छन्।


