काठमाडौं — गत माघ १६ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ ले देशभर दर्शकको अपार साथ पाउँदै अधिकांश हलमा हाउसफुल भइरहेको छ। मंगलबार दर्शकको अत्यधिक चापका कारण दाङ, धनगढी, पोखरा र धरानलगायतका सहरका हलहरूमा दिनभरका शोहरू सोल्ड आउट भएका छन्।
दर्शकको यस्तो उत्साहजनक उपस्थितिका बीच टिकट नपाएर फर्किनुपरेको घटनाप्रति निर्माण टिम दुःखी बनेको छ। फिल्मका अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै टिकट कन्फर्म गरेर मात्र हल पुग्न आग्रह गरेका छन्।
पल शाह भन्छन्,“आज मंगलबार नेपालगञ्ज, दाङ, धरान, पोखरा, धनगढीलगायत देशका धेरै सिनेमा हलहरूमा दिनभरका सबै टिकटहरू सोल्ड आउट भएका छन्। टाढा–टाढाबाट आएर टिकट नपाउँदा निराश भएर फर्किनुपरेको सुन्दा मलाई निकै दुःख लागेको छ। कृपया घरबाट निस्किनुअघि आफ्नो टिकट कन्फर्म गरेर मात्र हलसम्म आइदिनुहुन हार्दिक अनुरोध गर्दछु।”
उनले मंगलबार मात्रै तीन दर्जनभन्दा बढी हलमा हाउसफुल भएको स्क्रिनसर्टसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
आमा–बुबा र छोराबीचको घनिष्ठ सम्बन्ध तथा परदेशी जीवनको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको फिल्मले दर्शकलाई भावुक बनाइरहेको छ। केही दिनअघि दर्शक भावनामा बगेर बिहोस् भएको घटनापछि निर्माण टिमले माफीसमेत मागेको थियो।
व्यापारिक रूपमा पनि फिल्मले बलियो प्रदर्शन गरिरहेको छ। निर्माण टिमका अनुसार फिल्मले दशौँ दिनसम्म ५ करोड २० लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ। चलचित्र विकास बोर्डको ९ दिनको बक्स अफिस रिपोर्ट अनुसार फिल्मको व्यापार ४ करोड ८० लाख रुपैयाँभन्दा माथि पुगेको छ।
सुस्ताएको नेपाली फिल्म बजारमा पल शाह, विपना थापा, प्रदीप रावत र निर्देशक चन्द्र पन्तको टिमको मेहनतले ‘आ बाट आमा’ले दर्शकको मन जित्न सफल भएको विश्लेषण गरिएको छ। अधिकांश हलमा हाउसफुल चलिरहेको फिल्मले आगामी हप्तामा अझ राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।
यतिबेला अभिनेता पल शाह, सिम्रन पन्त, उषा उप्रेतीसहित निर्देशक चन्द्र पन्तको टिम दर्शक भेटघाटका लागि दाङ र नेपालगञ्जका हलहरूमा पुगेर प्रत्यक्ष प्रतिक्रिया संकलन गरिरहेको छ।
चन्द्र पन्तकै कथा तथा निर्देशनमा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत (गजनी भिलेन)सँगै साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली र रचना गौतमको अभिनय रहेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्।
फिल्मको छायांकन नवराज उप्रेती, सम्पादन मिलन श्रेष्ठ, र वितरण आरआर फिल्म्सले गरेको हो। डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित छ।


