काठमाडौं, झिँगेदाउ २को छायांकन ६३ दिनमा सम्पन्न भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको सिनेमाको अन्तिम दृश्य बुधबार चितवनमा खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जनाएको छ।
निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा मंसिरदेखि सुरु भएको छायांकन निर्धारित समयभन्दा तीन दिन बढी लागेको हो। पहिलो भागको सफलतालाई कायम राख्दै दोस्रो भागलाई अझ उत्कृष्ट बनाउने लक्ष्यसहित कुनै सम्झौता नगरी काम गरिएको उनले बताए। “दर्शकले राम्रो सिनेमा हेर्न पाउने विश्वास छ,” निर्देशक देउजाको भनाइ छ।

अर्को वर्षको दशैंमा प्रदर्शन लक्ष्य राखिएको सिनेमाको पोस्ट–प्रोडक्सनको काम केही दिनमै सुरु हुनेछ। काभ्रेको पनौटीबाट सुरु भएको छायांकन काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङलगायत विभिन्न स्थानमा गरिएको हो।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल र आशिष पुरुषको अभिनय रहनेछ।
निर्देशक देउजाकै कथामा बनेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डि गुरुङको सम्पादन रहनेछ।
सिनेमाका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे, मुख्य सहायक निर्देशक चन्द्र भण्डारी, कला निर्देशक पासाङ टि शेर्पा र मानिक पाख्रिन छन्। छायांकन विष्णु घिमिरे ‘कल्पित’ले गरेका छन्। निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।


