जेठ १२, चितवन ।निर्देशक मिलन चाम्स आफ्नो चलचित्रको घोषण सभामा होस् या प्रिमियरमा केही न केही नयाँ तरिका अपनाउने गर्छन् । यसैले, पनि उनले आयोजना गर्ने कार्यक्रमहरु भव्य हुने गर्छन् । उनै, मिलनले आज आफ्नो नयाँ चलचित्र ‘वर एण्ड वधु’को घोषणा गरेका छन् । ३ सातापछि यो चलचित्रको छायांकन रोमानियाबाट सुरु हुनेछ । नेपाल, इटाली र फ्रान्समा पनि यो चलचित्र खिचिनेछ ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य शिर्ष भूमिकामा देखिदैछन् । उनीहरुको साथमा चलचित्रका विजय लामा, रमेश वुढाथोकी, रविन्द्र खड्का, वुद्दि तामाङ, किरण केसी, हिमेष पन्त, श्रृष्टी खड्का, राजकुमार शाह, रविना केसी, मनोज केसी, ध्रुव दत्त, सन्तोष खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा कथा,पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । यस्तै, चलचित्रमा सुदिप बरालको छायांकन, कविराज गहतराज र सुसी वाइवाको कोरियोग्राफी, हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेलको संगीत रहनेछ ।

कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले यो चलचित्रसँग जोडिन पाउँदा आफूले भाग्यमानी ठानेको बताइन् । यस्तै, नव–नायक विवेकले चलचित्रका लागि आफूले मिहिनेत गरेको र दर्शकले चलचित्रमा त्यसको नजिता पनि देख्ने बताए ।


