काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘परालको आगो’ प्रदर्शनअघि नै दर्शकमाझ उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। आगामी शुक्रबारबाट रिलिज हुन लागेको यो फिल्मको अग्रिम टिकट बिक्री देशभर खुलेसँगै हलहरूमा राम्रो बुकिङ देखिएको छ।
निर्माण पक्षका अनुसार सुरुवाती चरणमै फिल्मले देशभर १०० भन्दा बढी शो प्राप्त गरेको छ। ट्रेलर र गीतहरूले दर्शकको ध्यान तानेपछि हल सञ्चालकहरूले पनि फिल्मलाई उच्च प्राथमिकता दिएका छन्। आगामी दिनमा शो संख्या अझ बढ्ने अनुमान गरिएको छ।
१३५ मिनेटको रनटाइम रहेको यो फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको छ। गुरुप्रसाद मैनालीको चर्चित कृतिबाट प्रेरित कथामा आधारित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत लगायत कलाकारहरूको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्। प्राविधिक पक्षमा पनि फिल्म बलियो देखिएको निर्माण टिमको दाबी छ।
निर्माण पक्ष फिल्मप्रति दर्शकको चासो देखेर उत्साहित देखिन्छ। उनीहरूका अनुसार ‘परालको आगो’ले रिलिजपछि पनि राम्रो व्यापार गर्ने विश्वास लिइएको छ।


