मुम्बई । बलिउड अभिनेता ऋतेश देशमुखको ड्रीम प्रोजेक्ट मानिएको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि रिलिज हुने भएको छ। फिल्मका लागि नेपालको आधिकारिक वितरक ‘निओम फिल्म्स’का कपिल निरौला र नवीन उदासले भारतसँगै नेपालमा पनि फिल्म रिलिज हुने जानकारी दिएका हुन्।
उनीहरूका अनुसार फिल्म रिलिजकै दिन विशेष प्रदर्शन (प्रिमियर) आयोजना गरिनेछ, जसमा भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी तथा सेलिब्रेटीहरूको उपस्थिति रहनेछ।
“साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ,” वितरक कपिल निरौलाले भने, “यो केवल एउटा फिल्मको प्रदर्शन मात्र नभई भारत र नेपालबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने माध्यम पनि हो।”
मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यस फिल्मलाई अभिनेता ऋतेश देशमुखले निर्देशन गरेका छन् र मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन्। फिल्ममा ऋतेशसँगै जेनेलिया देशमुख, संजय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मांजरेकर जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ।
विशेष कुरा के छ भने, ऋतेशका कान्छा छोरा राहिल देशमुखले यसै फिल्ममार्फत बाल कलाकारका रूपमा डेब्यु गरेका छन्। उनले फिल्ममा शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गरेका छन्।
जियो स्टुडियो, ज्योति देशपांडे र जेनेलिया देशमुखको निर्माणमा तयार भएको यो फिल्म आगामी मे १ (वैशाख १८) देखि नेपालमा प्रदर्शनमा आउनेछ।
मिडिया रिपोर्टका अनुसार फिल्मको बजेट १०० करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ। यसअघि ऋतेशले निर्देशन गरेको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ।



