काठमाडौं । अभिनेता तथा निर्देशक रमित ढुंगानाकी आमा ज्ञानुदेवी ढुंगानाको आइतबार बिहान निधन भएको छ। ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा उपचारका क्रममा बिहान ५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी ८८ वर्षकी थिइन्।
शनिबार साँझ अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि आइतबार बिहान उनको निधन भएको हो।
आमा–छोराबीचको घनिष्ठ सम्बन्धका कारण रमित ढुंगाना आफ्नी आमाप्रति अत्यन्त समर्पित थिए। उनले सामाजिक सञ्जालमा आमासँग बिताएका क्षणहरू नियमित रूपमा साझा गर्दै आएका थिए। आमाको स्वास्थ्य अवस्थाकै कारण उनले केही फिल्मका प्रस्तावहरू समेत अस्वीकार गरेका थिए।
दिवंगत ज्ञानुदेवी ढुंगानाको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिनेछ। अन्त्येष्टिअघि बिहान १० देखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर आर्यघाटमा राखिने कार्यक्रम रहेको छ।
यसैबीच, रमित ढुंगाना पछिल्लो समय आफ्नै निर्देशनमा निर्माण गरेको ‘नमेटिने घाउ’ पछि नयाँ फिल्म निर्माणको तयारीमा रहेको बताइएको छ।


