काठमाडौं, बैशाख १४
बहुप्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। निर्माण टिमले सोमबार भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा चलचित्रको शुभ मुहूर्तसगै छायांकन सुरु गरेको हो ।
दीपेन्द्र लामाको निर्देशन रहने ‘छ माया छपक्कै २’ लाई दीपक-दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा रोहित अधिकारीले निर्माण गर्दैछन । चलचित्रमा दीपकराज गिरी ,केकी अधिकारी ,सनिशा भट्टराई मुख्य भूमिकामा देखिदै छन ।
पहिलो भाग माया छपक्कैले दर्शकमाझ उल्लेखनीय सफलता हासिल गरेपछि यसको सिक्वेलप्रति सुरुदेखि नै उत्साह देखिएको थियो। सामाजिक–राजनीतिक परिवेशलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने यो फिल्मको दोस्रो भागले पनि त्यही स्वादलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
निर्माण टिमका अनुसार फिल्ममा नयाँ कथा र परिवेश समेटिनेछ भने दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने प्रयास गरिएको छ। कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी भने निर्माण पक्षले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।
पहिलो भागमा झैं यस सिक्वेलमा पनि समसामयिक विषयवस्तुलाई व्यंग्य र कमेडीमार्फत प्रस्तुत गरिने बताइएको छ। यही कारणले ‘माया छपक्कै २’लाई दर्शकले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।चलचित्रलाई आगामी दशैंको अवसर पारेर प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण टिमले राखेको छ।


