काठमाडौं — निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्देशन गर्ने घोषणा गरेका छन्। सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको घोषणा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो।
निर्देशक लामिछानेका अनुसार चलचित्र प्रेमकथामा आधारित हुनेछ। नेपाली चलचित्र उद्योगमा प्रेमकथात्मक फिल्मको संख्या कम हुँदै गएको अवस्थामा दर्शकले रुचाउने खालको सशक्त प्रेमकथा प्रस्तुत गर्ने लक्ष्य राखिएको उनले बताए।

चलचित्रमा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी तथा नवअभिनेत्री प्रतिमा थापालगायत कलाकारको अभिनय रहनेछ।
यस चलचित्रमा संगीत युग भुसालले दिनेछन्। आस्प इन्टरटेनमेन्ट अष्ट्रेलियाको सहकार्यमा निर्माण हुने फिल्मका सह–निर्मातामा राज श्रेष्ठ र आशिष थापा मगर रहेका छन्।

कार्यकारी निर्मातामा सन्तोष अधिकारी, लाइन प्रोड्युसरमा तेजविक्रम केसी रहनेछन्। चलचित्रको छायांकन (डीओपी) नरेन्द्र मैनालीले गर्नेछन् भने कथा तथा पटकथा मनीष गौतमले तयार पारेका हुन्।


