जेठ १५, काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि जितेको छ ।फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।
स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे ।त्यसबाहेक खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड रह्यो ।
यस्तै लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरे ।
यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो ।लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ ।
यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले रियलका लागि एक र एसी मिलानका लागि दुई पल्ट च्याम्पियन्स लिग जितेका थिए ।


