काठमाडौँ । फिल्म ‘लालीबजार’ प्रदर्शन विवाद थप चर्किएको छ। उच्च अदालत पाटनले चलचित्र जाँच समितिबाट फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयको फाइल झिकाउने आदेश दिएको छ।
मङ्गलबार न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले उक्त आदेश दिँदै वैशाख २३ गतेका लागि पेसी तोकेको हो। अदालतले दुवै पक्षलाई उपस्थित भएर छलफल गर्न निर्देशन समेत दिएको छ।
यसअघि अदालतले वैशाख १५ गते तत्कालका लागि फिल्म प्रदर्शनमा रोक लगाउने अन्तरिम आदेश दिएको थियो। सोही आदेशअनुसार प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको फिल्म हलसम्म पुग्न सकेन।
रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्। मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत विपक्षी बनाइएको छ।
यम थापा निर्देशित ‘लालीबजार’ वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो। तर अदालतको आदेशपछि यसको रिलिज अनिश्चित बनेको छ।



