काठमाडौं । निर्देशक कृषा चौलागाईँ को तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ले निर्माणको अर्को चरणमा प्रवेश गरेको छ। चलचित्रको पहिलो गीतको रेकर्डिङ कार्य सुरु गरिएको निर्माण टिमले जनाएको छ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका लागि गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँ ले स्वर दिएकी छन्। गीतमा संगीतकार तथा गायक कोशिस क्षेत्री को शब्द तथा संगीत रहेको छ।
व्यावसायिक र स्तरीय गीत–संगीतलाई प्राथमिकता दिने निर्देशक चौलागाईँ हाल चलचित्रका गीतलाई उत्कृष्ट बनाउन केन्द्रित रहेको बताइएको छ। गीत रेकर्डिङको काम सुरु भएसँगै चलचित्रको निर्माण प्रक्रिया थप तीव्र बनेको छ।

एक्सन र सामाजिक कथावस्तुमा आधारित रहने ‘पारस’मा निखिल उप्रेती, जसिता गुरुङ, सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंह लगायत कलाकार मुख्य भूमिकामा रहनेछन्। निर्माण पक्षले सबै कलाकारसँग औपचारिक सम्झौता गरिसकेको जनाएको छ।
घोषणाकै समयदेखि चर्चामा रहेको चलचित्रमा एकपछि अर्को स्थापित कलाकार जोडिँदै गएपछि दर्शक र चलचित्रकर्मीमाझ उत्सुकता बढ्दै गएको छ।
चलचित्रको पटकथा भारतीय लेखक सचिन लादिया ले तयार पारेका हुन् भने छायांकनको जिम्मेवारी चर्चित छायाकार पुरुषोत्तम प्रधान ले सम्हाल्नेछन्। अन्य प्राविधिक र बाँकी कलाकारको विवरण भने निर्माण टिमले हालसम्म सार्वजनिक गरेको छैन।
गीत रेकर्डिङको काम सुरु भएसँगै चलचित्रलाई छिट्टै फ्लोरमा लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। एक्सन, सामाजिक कथा र स्टार कलाकारको संयोजनका कारण ‘पारस’ अहिले नेपाली फिल्म वृत्तमा बहुप्रतीक्षित परियोजनामध्ये एक बनेको छ।


