काठमाडौं । वैशाख २५ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘लालीबजार’ले दर्शकबाट उत्साहजनक साथ पाइरहेको छ। केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको उक्त चलचित्रलाई हालसम्म घरेलु बजारमा २ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।
आमा–छोरीको सम्बन्ध र बादी समुदायको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले समाजमा विद्यमान शोषण, विभेद र चेतनाको विषयलाई उठाएको छ। विशेषगरी बादी समुदायका अभियन्ता तथा दर्शकहरूले चलचित्रले उनीहरूको पीडा, अस्तित्व र संघर्षलाई सशक्त रूपमा प्रस्तुत गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
चलचित्रमा एउटा समुदायले पुस्तौंदेखि भोग्दै आएको शोषणलाई ‘प्रथा’का रूपमा स्वीकार गर्न बाध्य भएको अवस्था र शिक्षाको उज्यालोले जागेको आत्मसम्मान तथा अधिकारको संघर्षलाई कथाको मुख्य आधार बनाइएको छ।
दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको भए पनि चलचित्र भने कानुनी विवादमा तानिएको छ। ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत र उच्च अदालत पाटनमा रिट दायर गरिएको छ। त्यसका कारण निर्माण टिम यतिबेला अदालत धाउन बाध्य बनेको छ।
एउटै समयमा दुवै अदालतमा पेशी परेपछि चलचित्रसँग सम्बन्धित सदस्यहरू अदालतका सुनुवाइमा सहभागी हुन विभिन्न ठाउँमा बाँडिनु परेको छ। हल भ्रमण गरेर दर्शकसँग भेटघाट गर्नुपर्ने समयमा कलाकार र निर्माण टिम कानुनी प्रक्रियामा व्यस्त बन्नुपरेको अवस्था देखिएको छ।
आज पनि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ तथा कार्यकारी निर्माता प्रदीप भट्टराई लगायत अदालत पुगेका छन्।
निर्माण पक्षले केन्द्रीय चलचित्र जाँच समितिले प्रमाणित गरिसकेको चलचित्रलाई पटक–पटक अदालतमा आफ्नो वैधानिकता पुष्टि गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताउँदै आएको छ।
यता दर्शकको साथ भने चलचित्रप्रति बढ्दो देखिएको छ। सामाजिक विषयवस्तु र समुदायको वास्तविक कथा प्रस्तुत गरिएकाले ‘लालीबजार’ अहिले चर्चाको केन्द्रमा रहेको छ।


