काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’ले उच्च अदालत पाटनबाट राहत पाएको छ। चलचित्रविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले केही श्रव्य सामग्री नसुन्ने बनाउने सर्तसहित प्रदर्शन जारी राख्न आदेश दिएको हो।
रोशनी वादीले दायर गरेको रिट निवेदनमाथि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले आज सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।
अदालतले केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको बुँदा नम्बर २ मा उल्लेख भएका केही शब्द र संवादलाई म्यूट गर्न निर्देशन दिएको छ। विशेषगरी ‘वादी’, ‘राजासावकोमा चलाउने प्रसाद, राजाको सामान’ भन्ने शब्दहरू नसुन्ने बनाउन आदेश गरिएको छ।
यस आदेशसँगै चलचित्र ‘लालीबजार’ले उच्च अदालत पाटनबाट प्रदर्शनका लागि क्लिन चिट पाएको मानिएको छ। अदालतले चलचित्रको प्रदर्शन पूर्ण रूपमा रोक्न आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो।
यसअघि पनि उच्च अदालत पाटनले गत वैशाख २३ गते चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको थियो। त्यसपछि पनि फिल्म नियमित रूपमा प्रदर्शन हुँदै आएको छ।
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ अहिले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। सामाजिक कथावस्तु, बादी समुदायको संघर्ष र आमा–छोरीको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।


