काठमाडौं, जेठ १३
निर्देशक निश्चल बस्नेत ले मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम समावेश भएको विषयमा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अनुसन्धानको सुरुवात आफैँबाट गर्न आग्रह गरेका हुन्।
बस्नेतले लेखेका छन्, “मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ। कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनुहोला। दुधको दुध, पानीको पानी छुट्याउनु पर्यो।”
उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिपयले उनको अभिव्यक्तिलाई पारदर्शिताको पक्षमा गरिएको आग्रहका रूपमा व्याख्या गरेका छन् भने केहीले आयोगको प्रतिवेदनबारे थप स्पष्टता आवश्यक रहेको बताएका छन्।
हालसम्म मानव अधिकार आयोगको प्रतिवेदनमा उनको नाम कुन सन्दर्भमा समावेश गरिएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। निश्चलको अभिव्यक्तिपछि भने यस विषयले थप चर्चा पाएको छ।
निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रमा निर्देशक, अभिनेता तथा निर्माता रूपमा परिचित छन्। उनले निर्देशन गरेको लूट, ‘टलकजंग भर्सेस टुल्के’ र ‘दिमाग खराब’ लगायत चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ शैली स्थापित गरेको मानिन्छ।



