काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म लालीबजार आजदेखि चौथो सातामा प्रवेश गरेको छ। चौथो सातासम्म आइपुग्दा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ भने नयाँ नेपाली फिल्महरूमाझ पनि ‘लालीबजार’ अगाडि देखिएको छ।
फिल्मले चौथो साताको प्रदर्शनका लागि देशभर १४० शो पाएको निर्माण पक्षले जनाएको छ। पहिलो दिन १८० शोबाट प्रदर्शन सुरु गरेको फिल्मले लगातार दर्शकको साथ पाइरहेको अभिनेता रवीन्द्रसिंह बानियाँ ले बताएका छन्।
दर्शकसँग निरन्तर भेटघाट गर्दै आएका बानियाँका अनुसार सुरुवातमा कानुनी विवादका कारण परिवारसहित फिल्म हेर्न मिल्दैन कि भन्ने भ्रम दर्शकमा रहेको थियो। तर अहिले परिवार नै लिएर हल आउने क्रम बढेको उनले बताए।
उनले भने, “फिल्म परिवारले नै हेर्नुपर्ने रहेछ भन्ने प्रतिक्रिया आइरहेको छ। अहिले तीन पुस्तासम्मका दर्शक हलमा आउनुभएको छ। भक्तपुरमा मात्रै १८ जना र १७ जनाको परिवार भेट्यौँ।”
निर्माण टिमका अनुसार चौथो साताको शुक्रबार र शनिबार अधिकांश शोमा दर्शकको चाप उल्लेख्य रहेको छ भने केही शो हाउसफुल समेत भइरहेका छन्। अभिनेता बानियाँले काठमाडौंदेखि मोफसलसम्म दर्शकबाट समान माया पाएको बताएका छन्।
यम थापा को लेखन तथा निर्देशनमा बनेको फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्व र संघर्षलाई प्रस्तुत गरेको छ। फिल्मको विषयवस्तु, निर्देशन र कलाकारहरूको अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरिरहेका छन्।
फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले आमाको संघर्षसँग आफूलाई जोडिएको प्रतिक्रिया दिने गरेका छन्। निर्माण पक्षले फिल्मले १० करोड रुपैयाँको व्यापारिक आँकडा पार गर्ने विश्वास व्यक्त गरेको छ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टल लगायत कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन्। फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्।


