काठमाडौं । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मा उत्कृष्ट ठहरिएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन्।
‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आगामी जुन २ देखि ४ तारिखसम्म काठमाडौंमा ६ अवार्ड विजेता चिनियाँ फिल्म प्रदर्शन गरिने भएको हो।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान सँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रमलाई काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युट ले सहयोग गरेका छन्।
निर्माण टिमका अनुसार ठमेलस्थित छायाँ सेन्टर मा सबै फिल्महरू सशुल्क प्रदर्शन गरिनेछ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक ले नेपाली र चिनियाँ चलचित्रकर्मीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले भने, “चिनियाँ पक्ष नेपाली बजारप्रति आकर्षित भइरहेको छ। यसले नेपाली चलचित्रकर्मीलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्र महोत्सव आयोजना गर्ने सम्भावना बढेको छ। यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा चलचित्र सम्बन्ध अझ बलियो बनाउने विश्वास लिएका छौं।”
जुन २ मा तीन फिल्म प्रदर्शन
कार्यक्रमको पहिलो दिन जुन २ (जेठ १९) मा तीन फिल्म प्रदर्शन गरिनेछन्।
बिहान ११ः३० बजे प्रदर्शन हुने फिल्म ट्रयाप सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध लागू हुनुअघि जेलबाट भागेका एक गुण्डाले सहरमा मच्चाएको आतंकको कथामा आधारित क्राइम थ्रिलर हो। फिल्मका निर्देशक सागर झाङ हुन्।
फिल्मले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह–अभिनेता अवार्ड जितेको थियो। प्रदर्शनपछि निर्देशक झाङसँग दर्शकको प्रश्नोत्तर कार्यक्रम समेत राखिएको छ।
दिउँसो ३ बजे प्रदर्शन हुने बियोन्ड द स्काइज युद्ध कथामा आधारित फिल्म हो। यसको निर्देशन झिहाई लिउ ले गरेका छन्।
साँझ ५ बजे प्रदर्शन हुने समर डायरी मा आमाको खोजीमा निस्किएको पात्रको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक वु शुआङ हुन्।
अन्य फिल्महरू पनि प्रदर्शन हुने
कार्यक्रमअन्तर्गत जेठ २० र २१ गते थप तीन फिल्म प्रदर्शन गरिनेछन्।
लस्ट इन द स्टार गर्भवती महिला हराएको रहस्यमय घटनामा आधारित फिल्म हो। यसको निर्देशन रुई कुई र सियाङ लिउ ले गरेका छन्।
त्यस्तै, द स्याडोलेस टावर प्रेम कथामा आधारित फिल्म हो, जसको निर्देशन झाङ लु ले गरेका हुन्।
जर्नी टु द वेस्ट साइन्स फिक्सन जनरामा बनेको फिल्म हो। एलियनको खोजीमा आधारित यस फिल्मलाई दाशाङ कोङ ले निर्देशन गरेका हुन्।


