काठमाडौं, जेठ २२
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ। पाँचौँ सातासम्म आइपुग्दा पनि फिल्मले नेपाली चलचित्रहरूमध्ये सर्वाधिक शो प्राप्त गर्दै आफ्नो बलियो उपस्थितिलाई कायम राखेको छ।
हाल फिल्मले देशभर ८१ शो पाएको छ। पाँचौँ सातामा समेत उल्लेखनीय शो प्राप्त गर्नुले दर्शकमाझ फिल्मको आकर्षण अझै कायम रहेको संकेत गर्छ। निर्माण पक्षका अनुसार ‘लालीबजार’लाई हालसम्म ३ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्, जसले यसलाई वर्ष २०८३ मा प्रदर्शन भएका सफल नेपाली चलचित्रहरूमध्ये अग्रपंक्तिमा उभ्याएको छ।
फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया निरन्तर आइरहेकाले निर्माण टिम अहिले पनि विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। अभिनेता रवीन्द्रसिंह बानियाँले षट्कोण आर्ट्सका अघिल्ला सफल चलचित्रहरूझैँ ‘लालीबजार’ले पनि दर्शकको मन जित्न सफल भएको बताए।
उनका अनुसार फिल्मले परिवार, शिक्षा र आमाको संघर्षलाई केन्द्रमा राखेर समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यही कारण अहिले धेरै दर्शक परिवारसहित हलसम्म पुग्ने गरेको उनले बताए।
बानियाँले भने, “दर्शकले विश्वास गरेर फिल्म हेर्न आउनुभएको छ र हलबाट सन्तुष्ट भएर फर्किनुभएको छ। यही हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। शिक्षाको महत्व र आमाको संघर्षलाई दर्शकले आत्मसात् गर्नुभएको छ।”
फिल्म हेरेर निस्कने अधिकांश दर्शकले आफू भावुक भएको, आमाको संघर्षसँग जोडिएको तथा कथाले गहिरो प्रभाव छोडेको प्रतिक्रिया दिने गरेका छन्।
यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली चलचित्रमा डेब्यु गरेका छन्। विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा सामाजिक सञ्जालमार्फत चर्चित अनुहार हुन्।
फिल्मको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेको फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन्। ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको षट्कोण आर्ट्सको यो पछिल्लो प्रस्तुति हो।


