काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
सिंगा ओभल क्रिकेट मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेले। रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले २० रनको योगदान दिए। आसिफ शेखले १ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। ओमानका कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रन जोडे।
नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने। उनले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट लिए।
यो जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब नेपालले हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
उल्लेखनीय कुरा के छ भने सेमिफाइनलमा पुगेका नेपाल, ओमान, हङकङ र मलेसिया चारै टोली यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन्।


