काठमाडौं । निर्देशक कृषा चौलागाईंको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ आगामी असार १५ गतेबाट छायांकनमा जाने भएको छ। निर्माण टिमले बिहीबार कलाकारहरूको फेस टेस्ट सम्पन्न गर्दै चलचित्रको छायांकन मिति सार्वजनिक गरेको हो।
बालाजुस्थित ल्याबमा आयोजित फेस टेस्टमा कलाकारहरूको पात्रअनुसारको लुक्स परीक्षण गरिएको थियो। अधिकांश पूर्वतयारीको काम पूरा भइसकेकाले चलचित्र छायांकनमा जान लागिएको निर्देशक चौलागाईंले जानकारी दिइन्। उनका अनुसार चलचित्रको छायांकन काठमाडौं र आसपासका क्षेत्रमा गरिनेछ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनेता निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुष्कर गुरुङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी रहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्। छायांकन निर्देशक (डीओपी) का रूपमा पुरुषोत्तम प्रधान रहनेछन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा आबद्ध छन्।
केही साताअघि चलचित्रको पहिलो गीत रेकर्ड गरिएको थियो। उक्त गीतमा ‘नेपाल आइडल सिजन–३’ विजेता सज्जा चौलागाईँ ले स्वर दिएकी छन्। गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ।
चलचित्रको प्रोडक्सन म्यानेजरमा रविन बखेल, द्वन्द्व निर्देशकमा शुक्रराज शाह, भीएफएक्सतर्फ सत्यम राणा र समीर मियाँ, मेकअप आर्टिस्टमा सरोज बुढाथोकी तथा मुख्य सहायक निर्देशकमा कुलदीप शर्मा रहनेछन्।
यस्तै, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् भने रेनिस फागो कलरिस्टका रूपमा रहनेछन्। चलचित्रको पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले पाएका छन्। कालाचरणले पृष्ठभूमि संगीत (बीजीएम) तयार गर्नेछन् भने गीताको गुरायाले मिक्सिङको काम सम्हाल्नेछिन्।
एक्सनप्रधान शैलीका चलचित्र निर्देशन गर्दै आएकी कृषा चौलागाईंको ‘पारस’लाई निर्माण चरणदेखि नै चासोका साथ हेरिएको छ। चलचित्रको छायांकन सुरु भएसँगै यसको प्रचारप्रसार पनि थप तीव्र हुने अपेक्षा गरिएको छ।


