काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रमाथि रोमाञ्चक जित निकालेको छ । दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
दक्षिण कोरियाको जितमा ओ ह्योन–ग्यु निर्णायक बने । खेलको ८०औँ मिनेटमा मैदान प्रवेश गरेका उनले गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए ।
खेलको सुरुआतदेखि नै दक्षिण कोरियाले आक्रामक खेल खेले पनि कप्तान सन ह्युङ–मिनसहितका खेलाडीले पाएका अवसर सदुपयोग गर्न सकेनन् । चेक गणतन्त्रले भने खेलको ५९औँ मिनेटमा अग्रता लिन सफल भयो । कप्तान लाडिस्लाभ क्रेजीले लामो थ्रो–इनबाट आएको बललाई हेडरमार्फत गोल गर्दै चेकलाई अघि बढाएका थिए ।
तर दक्षिण कोरियाले दोस्रो हाफमै खेल बराबरीमा ल्यायो । ६७औँ मिनेटमा ह्वाङ इन–बोमले उत्कृष्ट गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याए ।
चेक गणतन्त्रले ७७औँ मिनेटमा पुनः अग्रता लिएको देखिए पनि भिडियो रेफ्री (भिएआर) को निर्णयपछि गोल अफसाइडका कारण रद्द भयो । त्यसपछि दक्षिण कोरियाले आक्रमण बढाउँदै तीन मिनेटमै खेल आफ्नो पक्षमा पार्यो ।
ह्वाङ इन–बोमको उत्कृष्ट पासमा ओ ह्योन–ग्युले गोल गर्दै दक्षिण कोरियालाई २–१ को जित दिलाए ।
बाँकी समयमा चेक गणतन्त्रले बराबरीका लागि प्रयास गरे पनि दक्षिण कोरियाको रक्षापंक्तिले बलियो प्रदर्शन गर्दै जित सुरक्षित गर्यो ।
समूह ‘ए’ मा यसअघि मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो । अब दक्षिण कोरियाले अर्को खेलमा आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ भने चेक गणतन्त्रले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।


