काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्। अमेरिकाको न्यु जर्सीस्थित रंगशालामा शुक्रबार बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक अंक बाँडे।
खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। सुरुदेखि नै संगठित खेल प्रस्तुत गरेको मोरक्कोले ब्राजिललाई दबाबमा राख्दै पहिलो गोल गर्न सफल भएको हो।
तर, ब्राजिलले ११ मिनेटभित्रै खेलमा फर्कियो। ३२औँ मिनेटमा स्टार खेलाडी भिनिसियस जुनियरले आकर्षक गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
पहिलो हाफमा दुवै टोलीले गोल गरे पनि दोस्रो हाफमा थप गोल हुन सकेन। दुवै पक्षले अवसर सिर्जना गरे तापनि बल जाली चुमाउन असफल हुँदा खेल बराबरीमै सकिएको हो।
विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच भएको दोस्रो भेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो। बराबरीसँगै दुवै टोलीले समूह चरणमा महत्वपूर्ण अंक सुरक्षित गरेका छन्।
यसै समूहअन्तर्गत अर्को खेलमा हाइटी र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे बोस्टनमा हुनेछ।


