काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा जोन म्याकगिनको एकमात्र गोल स्कटल्यान्डको जितका लागि पर्याप्त बन्यो।
यस जितसँगै स्कटल्यान्डले तीन अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। समूहका अन्य टोली ब्राजिल र मोरक्कोले आफ्नो पहिलो खेल १–१ को बराबरी खेलेका कारण दुवैसँग समान एक–एक अंक रहेको छ।
खेलको २८औँ मिनेटमा स्कटल्यान्डले निर्णायक गोल गरेको थियो। चे एडम्सले हाइटीको रक्षापंक्तिलाई छक्याउँदै दिएको उत्कृष्ट पासलाई जोन म्याकगिनले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। म्याकगिनको प्रहार आकर्षक नभए पनि गोलका लागि पर्याप्त सावित भयो।
पहिलो हाफमा प्राप्त अग्रतालाई स्कटल्यान्डले अन्तिमसम्म जोगायो। हाइटीले बराबरी गोलका लागि प्रयास गरे पनि स्कटल्यान्डको रक्षापंक्ति मजबुत बनेपछि खेलमा फर्किन सकेन।
अब समूह ‘सी’ अन्तर्गत जुन १९ मा स्कटल्यान्डले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने हाइटीले ब्राजिलको सामना गर्नेछ।


