काठमाडौं । चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप २०२६ मा प्रभावशाली सुरुआत गरेको छ। आइतबार सम्पन्न समूह चरणको खेलमा जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै आफ्नो दाबेदारी बलियो बनाएको हो।
खेलको छैटौँ मिनेटमै फेलिक्स नेम्चाले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले गोल फर्काउँदै कुरासाओलाई १–१ को बराबरीमा ल्याए। विश्वकपमा कुरासाओको यो पहिलो गोल थियो।
बराबरीपछि जर्मनीले खेलमाथि पूर्ण नियन्त्रण कायम गर्यो। ३८औँ मिनेटमा निको श्लोटरबेकले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई पुनः अग्रता दिलाए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–१ को अवस्थामा पुर्याए।
दोस्रो हाफको सुरुआतमै जमाल मुसियालाले गोल थपेपछि जर्मनीको अग्रता अझ फराकिलो बन्यो। त्यसपछि नाथानियल ब्राउन, डेनिज उन्डाभ र काइ हाभर्ट्जले थप गोल गर्दै जर्मनीलाई ७–१ को शानदार जित दिलाए। हाभर्ट्जले खेलमा व्यक्तिगत दुई गोल गरे।
सन् २०१४ मा विश्वकप उपाधि जितेपछि लगातार दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनीका लागि यो नतिजा आत्मविश्वास बढाउने साबित भएको छ। करिब ६८ हजार दर्शकको उपस्थितिमा भएको खेलमा जर्मन टोलीले आक्रामक र आकर्षक फुटबल प्रदर्शन गरेको थियो।
विश्वकप इतिहासकै सबैभन्दा सानो राष्ट्रका रूपमा प्रतियोगितामा सहभागी भएको कुरासाओले हार बेहोरे पनि आफ्नो पहिलो विश्वकप गोल गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
अब जर्मनीले आफ्नो दोस्रो खेलमा आइभोरी कोस्टको सामना गर्नेछ भने कुरासाओले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।


