काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा आइभोरी कोस्टले अन्तिम मिनेटको गोलमा इक्वेडरलाई १–० ले पराजित गरेको छ। लिंकन फाइनान्सियल फिल्डमा सोमबार बिहान सम्पन्न खेलमा अमाद डियालो नायक बने।
दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक बनेको खेल गोलरहित बराबरीतर्फ अग्रसर देखिएको थियो। तर खेलको ९०औँ मिनेटमा डियालोले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि आइभोरी कोस्टले महत्वपूर्ण जित दर्ता गर्यो।
डियालोको गोलका लागि विल्फ्रिड सिंगोले दायाँ विंगबाट उत्कृष्ट पास उपलब्ध गराएका थिए। दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डियालोले अवसरलाई सदुपयोग गर्दै टोलीलाई तीन अंक दिलाए।
सन् २०१४ पछि विश्वकपमा पुनरागमन गरेको आइभोरी कोस्टका लागि यो जित विशेष रह्यो। यस नतिजाले टोलीको नकआउट चरण पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ।
यता, इक्वेडरको लामो अपराजित यात्रामा पूर्णविराम लागेको छ। सेप्टेम्बर २०२४ यता हार नबेहोरेको इक्वेडर १९ खेलपछि पहिलो पटक पराजित भएको हो।
खेलमा दुवै टोलीले गोलका थुप्रै अवसर सिर्जना गरेका थिए। आइभोरी कोस्टका एलिये वाहीको प्रहार क्रसबारमा लाग्दा इक्वेडरका जोन येबोआह र निल्सन आङ्गुलोका प्रयास पनि गोलमा परिणत हुन सकेनन्।
६८ हजारभन्दा बढी दर्शक उपस्थित खेलमा इक्वेडरका समर्थकको बाहुल्यता देखिए पनि अन्तिम समयमा डियालोले गरेको गोलले खेलको नतिजा आइभोरी कोस्टको पक्षमा मोडिदियो।
अब आइभोरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीको सामना गर्नेछ भने इक्वेडरले कुरासाओसँग प्रतिस्पर्धा गर्नेछ।


