काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’को तीज विशेष गीत ‘नाँचौँ न बरी लै’को छायांकन सम्पन्न भएको छ। सोमबार काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिर परिसरमा भव्य सेट निर्माण गरी गीतको छायांकन गरिएको हो।
तीजको सांगीतिक माहोल झल्काउने उक्त गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ भने कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द सिर्जना रहेको छ। स्टुडियो तासमा रेकर्ड गरिएको गीतमा विजेश्वरराज तण्डुकारको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलालाई देख्न सकिन्छ। उनीहरूको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन्।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्र आगामी भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय रहेको छ। साथै बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय देख्न पाइनेछ।
चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको चलचित्रमा सुरेन्द्र राणाका शब्द र कर्णराज गिरीको संगीत समावेश छ।
चलचित्रको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन्। शंकर महर्जन द्वन्द्व निर्देशक, मदन न्यौपाने मेकअप आर्टिस्ट, प्रार्थना भट्टराई भेषभूषा डिजाइनर तथा सुमन काफ्ले निर्माण व्यवस्थापकको भूमिकामा छन्।
राकेश दाहालले पोस्टर डिजाइन गरेको चलचित्रलाई नेशनल सिने ग्रुप नेपालमार्फत दिपक दंगालले वितरण गर्नेछन्। मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहरा रहेका छन्।
दर्जनौँ नेपाली चलचित्रमा सहायक निर्देशकका रूपमा अनुभव बटुलेका विनयराज पौडेलले **‘अक्षरा’**मार्फत पहिलोपटक स्वतन्त्र निर्देशकका रूपमा दर्शकमाझ आउन लागेका हुन्।


