काठमाडौं । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘पेन्सन पट्टा’ले अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गर्न थालेको छ। प्रचार सामग्री सार्वजनिक हुनुअघि नै चलचित्रको विदेश प्रदर्शन अधिकार विभिन्न देशमा बिक्री भइरहेका छन्।
बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री भइसकेपछि अब अष्ट्रेलिया र न्युजिल्यान्डको अधिकार पनि बिक्री भएको निर्माण टिमले जनाएको छ। निर्देशक तथा अभिनेता माओत्से गुरुङका अनुसार ती दुई देशको प्रदर्शन अधिकार द ब्याकअप इभेन्ट्सले खरिद गरेको हो।
कुनै पोस्टर, टिजर वा ट्रेलर सार्वजनिक नहुँदै विदेशमा चलचित्रप्रति देखिएको चासोलाई निर्माण पक्षले सकारात्मक संकेतका रूपमा लिएको छ। निर्देशक गुरुङको अनुभव र चलचित्रको विषयवस्तुप्रतिको विश्वासका कारण विदेशी वितरकहरू आकर्षित भएको निर्माण टिमको बुझाइ छ।
हरितालिका तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा दयाहाङ राईसँगै सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डीबी गुरुङ र प्रतिक्षा गुरुङको अभिनय रहेको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा, लेखन तथा निर्देशन स्वयं माओत्से गुरुङले गरेका हुन्। चलचित्रको शीर्षकले भूतपूर्व लाहुरेको कथा झल्काए पनि कथावस्तु भने लोभ र स्वार्थमा केन्द्रित पात्रको जीवन परिवर्तनको यात्रामा आधारित रहेको निर्देशक गुरुङले बताएका छन्।
चलचित्रमा मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङको लगानी रहेको छ। सुशन प्रजापति छायांकन निर्देशक, सुरज तमु कास्टिङ निर्देशक तथा मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङ संगीतकारका रूपमा रहेका छन्।
केर डी. कोइच लिनुचले सम्पादन गरिरहेको चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ।


