काठमाडौं, आषाढ ०२
फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागिता जनाएको केप भर्डेले आफ्नो डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गर्दै उपाधि दाबेदार स्पेनलाई गोलविहीन बराबरीमा रोक्न सफल भएको छ।
सोमबार सम्पन्न खेलमा बलियो टोली मानिएको स्पेनले अधिकांश समय खेलमाथि नियन्त्रण कायम राखे पनि केप भर्डेको सुदृढ रक्षापंक्ति र गोलरक्षक भोजिन्हाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन।
४० वर्षीय अनुभवी गोलकिपर भोजिन्हा खेलभर स्पेनिस आक्रमणविरुद्ध मजबुत पर्खाल बने। स्पेनका फरवार्ड फेरान टोरेसको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने अर्को अवसरमा उनको प्रहारलाई भोजिन्हाले शानदार बचाउ गरे। मिडफिल्डर पेड्रीसहित अन्य खेलाडीका खतरनाक प्रयासहरू पनि उनले विफल पारे।
पहिलो हाफको अन्त्यतिर आएको स्पेनको अर्को सुनौलो अवसरलाई समेत भोजिन्हाले बचाउ गरेपछि खेल गोलरहित बराबरीमा सकियो।
करिब पाँच लाख जनसंख्या भएको टापु राष्ट्र केप भर्डेले विश्वकपको पहिलो खेलमै युरोपियन च्याम्पियनविरुद्ध देखाएको आत्मविश्वासपूर्ण प्रदर्शनले फुटबल जगतको ध्यान आकर्षित गरेको छ।
सन् २०१० को विश्व विजेता स्पेन दोस्रो विश्वकप उपाधिको लक्ष्यसहित प्रतियोगितामा उत्रिएको हो। तर, खेलअघि नै स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले केप भर्डेलाई प्रतियोगिताको सम्भावित ‘सरप्राइज टिम’को रूपमा उल्लेख गरेका थिए।
केप भर्डेको प्रदर्शनले प्रशिक्षकको उक्त आकलनलाई सही साबित गर्दै विश्वकपमा नयाँ टोली पनि ठूला राष्ट्रहरूलाई चुनौती दिन सक्षम रहेको संकेत दिएको छ।


