काठमाडौं, आषाढ ०२
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’मा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको सियाटलमा सम्पन्न खेलमा इजिप्ट ऐतिहासिक जितको संघारमा पुगेर पनि आत्मघाती गोलका कारण तीन अंकबाट वञ्चित भएको हो।
खेलको १९औँ मिनेटमा एमाम आसुरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। कप्तान मोहामेद सलाहको सटीक पासमा आसुरले बेल्जियमका रक्षक र गोलरक्षक थिबाउट कोर्टुवालाई छक्याउँदै बल जालीमा पुर्याएका थिए। २८ वर्षीय आसुरको यो अन्तर्राष्ट्रिय करियरको पहिलो गोलसमेत हो।
पहिलो हाफभर इजिप्टले प्रभावशाली प्रदर्शन गर्दै बेल्जियमलाई दबाबमा राखेको थियो। तर दोस्रो हाफमा बेल्जियमले खेलको लय समात्यो। प्रशिक्षकको रणनीतिक परिवर्तनपछि मैदान प्रवेश गरेका रोमेलु लुकाकुले आक्रमणमा नयाँ ऊर्जा थपे।
खेलको ६६औँ मिनेटमा बेल्जियमले बराबरी गोल उपहारस्वरूप प्राप्त गर्यो। थोमस मुनिएरको क्रस क्लियर गर्ने प्रयासमा इजिप्टका डिफेन्डर मोहामेद हानीबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
लुकाकुको दबाबबीच भएको उक्त गल्तीले इजिप्टको ऐतिहासिक जितको सपना तोडिदियो। बाँकी समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफलता हात पार्न सकेनन्।
अन्ततः खेल बराबरीमा टुंगिँदा बेल्जियम र इजिप्टले समान एक–एक अंकमा चित्त बुझाए। जित नजिक पुगेर पनि इजिप्टले विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक विजय दर्ता गर्ने अवसर गुमाएको छ।


