काठमाडौं, आषाढ ०३
फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्ड चम्किँदा नर्वेले विजयी सुरुआत गरेको छ। समूह ‘आई’ अन्तर्गत सम्पन्न खेलमा नर्वेले इराकलाई ४–१ ले हराउँदै प्रतियोगितामा प्रभावशाली शुरुआत गरेको हो।
विश्वकपमा पहिलो पटक खेलिरहेका हालान्डले दुई गोल र एक असिस्ट गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। सन् १९९८ पछि विश्वकपमा पुनरागमन गरेको नर्वेका लागि यो सम्झनलायक नतिजा बनेको छ।
खेलको २९औँ मिनेटमा डेभिड मोलर वोल्फेको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै हालान्डले नर्वेलाई अग्रता दिलाए। उनले आकर्षक शैलीमा गरेको फिनिसिङले दर्शकलाई रोमाञ्चित बनाएको थियो।
इराकले ३८औँ मिनेटमा खेल बराबरीमा ल्यायो। अमिर अलामारीको क्रसमाथि आयमेन हुसेनले शक्तिशाली हेडर प्रहार गर्दै स्कोर १–१ बनाए।
तर, पहिलो हाफको अन्त्यतिर इराकी रक्षापंक्तिको गल्ती नर्वेका लागि अवसर बन्यो। कमजोर ब्याकपासमा चनाखो बनेका हालान्डले बल नियन्त्रणमा लिएर सहज गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए।
दोस्रो हाफमा नर्वेले खेलमाथि पूर्ण नियन्त्रण जमायो। ७६औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नरलाई लियो ओस्टिगार्डले हेडमार्फत गोलमा परिणत गर्दै नर्वेको अग्रता थप फराकिलो बनाए।
खेलको अन्तिम समयमा हालान्डकै पासमा क्रिस्टियन थोर्स्टभेड्टले गोल थपेपछि नर्वेले ४–१ को प्रभावशाली जित सुनिश्चित गर्यो।
इराकले केही समय प्रतिस्पर्धात्मक खेल देखाए पनि हालान्डको उत्कृष्ट प्रदर्शन र नर्वेको आक्रामक रणनीतिका अगाडि टिक्न सकेन। यस जितसँगै नर्वेले विश्वकप अभियान उत्साहजनक ढंगले सुरु गरेको छ।


