काठमाडौं, आषाढ ०३
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुआत गरेको छ। कप्तान लियोनल मेसीको ऐतिहासिक ह्याट्रिक प्रेरित अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।
क्यान्सस सिटीस्थित एरोहेड स्टेडियममा भएको खेलमा मेसीले सुरुदेखि नै आफ्नो प्रभाव देखाएका थिए। खेलको प्रारम्भिक चरणमै रोड्रिगो डे पाउलको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै उनले अर्जेन्टिनालाई अग्रता दिलाए। दोस्रो हाफको सुरुमै अर्को गोल थपेका मेसीले खेलको अन्तिम समयमा तेस्रो गोल गर्दै विश्वकप करिअरकै पहिलो ह्याट्रिक पूरा गरे।
जारी विश्वकपको यो पहिलो ह्याट्रिक समेत हो। ह्याट्रिक पूरा गरेपछि मैदानबाट बाहिरिने क्रममा उपस्थित हजारौं अर्जेन्टिनी समर्थकले उभिएर मेसीको सम्मान गरेका थिए।
यो ह्याट्रिकसँगै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्। उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई थप मजबुत बनाएका छन्।
विशेष संयोग के छ भने मेसीले विश्वकपमा डेब्यु गरेको ठीक २० वर्षपछि यो उपलब्धि हासिल गरेका हुन्। उनले सन् २००६ मा सर्बिया र मोन्टेनेग्रोविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गरेका थिए।
आगामी साता ३९ वर्ष पुग्न लागेका मेसीका लागि यो करिअरको ६१औँ तथा अर्जेन्टिनाका लागि ११औँ ह्याट्रिक हो। साथै, उनले लगातार पाँच फरक विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान पनि आफ्नो नाममा दर्ज गरेका छन्।
अल्जेरियाविरुद्धको खेल मेसीको अन्तर्राष्ट्रिय करिअरको २००औँ खेलसमेत बनेको छ। सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेसी अहिले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीहरूमध्ये एक हुन्।
मेसीको यो अविस्मरणीय प्रदर्शनले फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनलाई समेत ओझेलमा परेको छ ।


