काठमाडौँ । निर्देशक विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सम्पन्न भएको छ। तोकिएको कार्यतालिका अनुसार ३७ दिनमै सम्पूर्ण छायांकन पूरा गरिएको निर्माण टिमले जनाएको छ।
निर्देशक पौडेलले कलाकार तथा प्राविधिकहरूको समन्वय र मेहनतका कारण निर्धारित समयमै सुटिङ सक्न सफल भएको भन्दै सबैलाई धन्यवाद दिएका छन्।
चलचित्रको छायांकन सकिनुअघि तीज पर्वलाई लक्षित गर्दै ‘नाँचौं न बरि लै’ बोलको गीत पनि छायांकन गरिएको थियो। उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।
क्षित बाबु प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, पुष्कर राउत, रिस्ता अधिकारीलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि देखिनेछन्।
चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कथा पनि निर्माता उग्रसेनले नै लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।
दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा तथा सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ।
यसअघि सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयराज पौडेल यसै चलचित्रमार्फत स्वतन्त्र निर्देशकको रूपमा डेब्यु गर्दैछन्। चलचित्र आगामी भदौ २६ गते देशभरका सिनेमाघरमा रिलिज हुने तयारीमा छ।



