काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको सुटिङ बुधबार इन्डक्ल्यापसँगै सकिएको निर्माण पक्षले जनाएको छ।
फिल्मको पहिलो चरणको छायांकन गत वर्ष साउन १० गतेबाट सुरु गरिएको थियो। त्यसपछि दोस्रो चरणको सुटिङ दुई साताअघि सुरु भई हालै सम्पन्न भएको हो। चलचित्रका दृश्यहरू काभ्रे, काठमाडौं र वीरगञ्जका विभिन्न स्थानमा खिचिएका छन्।
निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘क्याप्टेन साब’ पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो। चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका छन्।
पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली प्रमुख भूमिकामा देखिनेछन्।
निर्देशक दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेको सहकार्य नेपाली चलचित्र क्षेत्रमा परिचित छ। यस्तै, ‘धनपति’पछि दीपेन्द्र, खगेन्द्र र सुरक्षा पन्तको यो दोस्रो संयुक्त परियोजना हो।
चलचित्रका निर्माता दीपेन्द्र के. खनाल र करण श्रेष्ठ हुन् भने सिर्जना नापित कार्यकारी निर्माताको भूमिकामा रहेकी छन्। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक दीपेन्द्रकै रहेको छ।
फिल्ममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइनर, रोहित राज गौतम एचओडी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन्।
छायांकन सम्पन्न भएसँगै ‘क्याप्टेन साब’ अब सम्पादन, डबिङ र अन्य पोस्ट–प्रोडक्सन कार्यतर्फ अघि बढेको छ।


