काठमाडौँ । सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा क्यानडाले सुरुदेखि नै दबाब बनाउँदै कतारमाथि पूर्ण नियन्त्रण कायम गरेको थियो। क्यानडाको जितमा स्टार फरवार्ड जोनाथन डेभिड नायक बने, जसले शानदार ह्याट्रिक पूरा गरे। यस्तै साइले लारिन र नाथन सालिबाले एक–एक गोल गरे भने कतारले एक आत्मघाती गोल उपहार दिएको थियो।
खेलको १६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाए। त्यसपछि २९औँ मिनेटमा डेभिडले गोल थपे। कतारका हमाम अहमद ३३औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै डेभिडले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडालाई ३–० को अवस्थामा पुर्याए।
दोस्रो हाफमा कतारको अवस्था झन् कमजोर बन्यो। ५१औँ मिनेटमा असिम माडिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा झर्यो। त्यसपछि क्यानडाले थप आक्रामक खेल प्रदर्शन गर्दै ६४औँ मिनेटमा नाथन सालिबामार्फत चौथो गोल गर्यो।
७५औँ मिनेटमा कतारका मोहम्मद मनाईबाट आत्मघाती गोल भएपछि स्कोर ५–० पुग्यो। इन्जुरी समयमा डेभिडले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे र क्यानडालाई ६–० को ऐतिहासिक जित दिलाए। यो विश्वकप २०२६ को पहिलो ह्याट्रिक समेत बनेको छ।
यो जित क्यानडाका लागि विशेष रह्यो। सन् १९८६ र २०२२ को विश्वकप खेलिसकेको क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक जित निकाल्न सफल भएको हो। दुई खेलबाट ४ अंक जोडेको क्यानडा गोलअन्तरका आधारमा समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ।
समान ४ अंक भए पनि स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ। बोस्निया एन्ड हर्जगोभिना र कतारले भने समान १–१ अंक मात्र जोड्न सकेका छन्। अब अन्तिम समूह चरणका खेलले नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ।


