काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले प्रदान गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्ड’ यस वर्ष असार ६ गते शनिबार आयोजना हुने भएको छ। समाजले बुधबार विज्ञप्ति जारी गर्दै ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ र ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ एकै समारोहमा वितरण गरिने जनाएको हो।
समाजका अनुसार दुई वर्षभित्र प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको कलात्मक, प्राविधिक तथा विषयगत पक्षको विस्तृत अध्ययन र मूल्याङ्कनपछि विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा चलचित्र छनोट गरिएको हो। विजेताको नाम यसअघि नै सार्वजनिक गरिसकिएको छ।
क्रिटिक्स फिल्म अवार्ड २०८१ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘शाम्बाला’का निर्देशक मीनबहादुर भामले प्राप्त गरेका छन्। उत्कृष्ट अभिनेताको अवार्ड ‘गाउँ आएको बाटो’का दयाहाङ राईलाई प्रदान गरिनेछ भने उत्कृष्ट अभिनेत्रीमा ‘शाम्बाला’की थिन्ले ल्हामो छनोट भएकी छन्।
यसैगरी, ‘सानो संसार’का सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी उत्कृष्ट पटकथा/लेखनका लागि सम्मानित हुनेछन्। ‘आँखा’का आलोक शुक्लाले उत्कृष्ट छायांकन तथा ‘राजागञ्ज’का जे. हिम ली र एलेक्स गुर्भिट्सले उत्कृष्ट सम्पादन विधामा अवार्ड जितेका छन्। ‘गाउँ आएको बाटो’का किशोर आचार्य उत्कृष्ट साउण्ड डिजाइनतर्फ सम्मानित हुनेछन्।
स्पेसल मेन्सनतर्फ ‘बोक्सीको घर’की सुपला सापकोटा (अभिनय) र ‘पूर्ण बहादुरको सारङ्गी’का रोशन दिवाना (कला निर्देशन) सम्मानित हुने भएका छन्।
त्यस्तै, क्रिटिक्स फिल्म अवार्ड २०८२ मा चलचित्र ‘ऊनको स्वीटर’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ। सोही चलचित्रका निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक बनेका छन्। उत्कृष्ट अभिनेताको अवार्ड ‘भूठान’का हरिवंश आचार्यले प्राप्त गरेका छन् भने ‘रमिताको पिरती’की आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्।
‘ऊनको स्वीटर’का नवीन चौहान र सुरज कटुवाल उत्कृष्ट पटकथा विधामा सम्मानित हुनेछन्। ‘भूठान’का सुशन प्रजापति उत्कृष्ट छायांकन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादन विधाका विजेता बनेका छन्। ‘ऊनको स्वीटर’का कोविद बज्र उत्कृष्ट पार्श्व संगीततर्फ सम्मानित हुनेछन्।
समाजले नेपाली चलचित्रको गुणस्तरीय मूल्याङ्कन र सिर्जनात्मक योगदानको सम्मानस्वरूप यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।


