काठमाडौं । निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहको सफल सहकार्यले नयाँ अध्याय थप्ने भएको छ। ‘आ बाट आमा’ र ‘आ बाट आमा २’ पछि पन्तले आफ्नो आगामी चलचित्रका लागि पनि पल शाहलाई अनुबन्ध गरेका छन्।
शुक्रबार ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सम्पन्न भएपछि निर्देशक पन्तले नयाँ चलचित्रका लागि पलसँग सम्झौता गरेका हुन्। निर्माण टिमले हालसम्म चलचित्रको नाम, कथावस्तु तथा अन्य कलाकारबारे कुनै विवरण सार्वजनिक गरेको छैन।
निर्देशक पन्तले नयाँ परियोजनाका लागि प्रारम्भिक रूपमा पल शाहलाई मात्र अनुबन्ध गरिएको जानकारी दिए। अन्य कलाकार तथा प्राविधिक टोलीको टुंगो लागेपछि फिल्मबारे थप विवरण सार्वजनिक गरिने उनले बताए।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेपछि पन्त र पलको जोडी दर्शकमाझ चर्चित बनेको थियो। उक्त चलचित्रले १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै निर्मातालाई राम्रो प्रतिफल दिएको थियो।
यसैबीच, उनीहरूको दोस्रो सहकार्य रहेको ‘आ बाट आमा २’ आगामी असोज ३० गते प्रदर्शनमा आउने तयारीमा छ। दशैंको अवसर पारेर रिलिज हुन लागेको यो फिल्मप्रति दर्शक र वितरक दुवैको चासो देखिएको छ।
फिल्मको अन्तर्राष्ट्रिय बजार पनि बलियो देखिएको छ। जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको अधिकार ‘डोको फिल्म्स’ले यसअघि नै सुरक्षित गरिसकेको छ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘आ बाट आमा २’ मा पल शाहसँगै मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलिप अखेडाको अभिनय रहेको छ।
निर्देशक पन्तकै कथा, पटकथा तथा लेखन रहेको फिल्मको निर्माण व्यवस्थापन करणसिंह रसालीले सम्हालेका छन्। ‘दसैंको जमरा र आमाको पर्खाइको कथा’ भन्ने नारासहित निर्माण गरिएको यो फिल्म पारिवारिक भावना र सम्बन्धको कथामा केन्द्रित रहेको जनाइएको छ। नेपालभित्र फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलसँग रहेको छ।


