काठमाडौं । चलचित्र ‘जारी’बाट दर्शकको मन जित्न सफल अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी पुनः एकपटक ठूलो पर्दामा फर्किने भएको छ। उनीहरू अब निर्देशक अनिल बुढा मगरको नयाँ चलचित्र ‘रातो घेरा (द रेड सर्कल)’मा मुख्य भूमिकामा देखिनेछन्।
विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र सामाजिक तथा भावनात्मक कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ। फिल्ममार्फत दर्शकलाई मनोरञ्जनसँगै सशक्त सन्देश दिने प्रयास गरिने बताइएको छ।
‘जारी’मा देखिएको दयाहाङ र मिरुनाको अभिनय र केमेस्ट्रीले नेपाली चलचित्र क्षेत्रमा विशेष चर्चा पाएको थियो। उक्त चलचित्रले व्यावसायिक सफलता हासिल गर्नुका साथै समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया बटुलेको थियो। यही कारण पनि ‘रातो घेरा’मा उनीहरूको पुनर्मिलनलाई लिएर अहिले नै उत्साह देखिन थालेको छ।
अभिनेत्री मिरुना मगरले हालै चलचित्र ‘ऊनको स्वीटर’बाट राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरेकी छन्। यस उपलब्धिपछि उनको नयाँ चलचित्रप्रति दर्शकको चासो झनै बढेको छ।
निर्माण टिमका अनुसार चलचित्रलाई कथावस्तु, प्राविधिक पक्ष र प्रस्तुतीकरणका हिसाबले विशेष बनाउन तयारी भइरहेको छ। अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण भने आगामी दिनमा सार्वजनिक गरिनेछ।
चलचित्रको वितरण अधिकार काफीया फिल्म्स प्रालिले लिएको छ। ‘जारी’पछि फेरि एउटै पर्दामा देखिन लागेका दयाहाङ र मिरुनाको जोडीका कारण ‘रातो घेरा’ अहिलेबाटै बहुप्रतीक्षित नेपाली चलचित्रको सूचीमा परेको छ।


