काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक पोस्टरले चलचित्रको मुख्य पात्रसँगै कथाको भावनात्मक पक्ष उजागर गरेको छ।
पोस्टरमा अभिनेता दिव्य देव ‘बा’को भूमिकामा देखिएका छन्। गम्भीर मुद्रामा प्रस्तुत भएका उनको अनुहारले जिम्मेवारी र संघर्षले भरिएको पात्रको संकेत गर्छ। अभिनेत्री सुहाना थापा पनि पोस्टरमा विशेष स्थानमा देखिएकी छन्। उनी झोला बोकेर हिँडिरहेको दृश्यले परिवार र भविष्यबीचको संघर्षको कथा बोल्ने अनुमान गर्न सकिन्छ।
पोस्टरमा देखिएको सानो पारिवारिक तस्वीर, घरको परिवेश, लालपुर्जा र आकाशमा उडिरहेको जहाजले नेपाली मध्यमवर्गीय परिवारको यथार्थ चित्रण गरेको छ। सन्तानको भविष्य सुनिश्चित गर्न बुवाले भोग्नुपर्ने चुनौती, त्याग र संघर्ष चलचित्रको मुख्य विषयवस्तु रहेको संकेत पोस्टरले दिएको छ।
पोस्टरमार्फत अभिनेत्री झरना थापा पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा रहेको खुलासा गरिएको छ। उनी दिव्य देवको जोडी तथा सुहानाकी आमाको भूमिकामा देखिने जनाइएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रले नेपाली समाजका बुवाहरूले परिवारका लागि गर्ने संघर्ष र समर्पणलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नेछ। बुबाको मुख हेर्ने दिनको अवसर पारेर भदौ १९ गते चलचित्र प्रदर्शनमा आउने तयारी गरिएको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। चलचित्रमा दिव्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको अभिनय रहेको छ।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले देशभर प्रदर्शन गर्नेछ।


