काठमाडौं, आषाढ ०८
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आइतबारसम्मको बक्स अफिस विवरणअनुसार फिल्म ‘लालीबजार’ व्यापारको दौडमा अग्रस्थानमा रहेको छ। यम थापाको निर्देशनमा बनेको उक्त फिल्मले हालसम्म ९ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
बोर्डका अनुसार ‘लालीबजार’लाई देशभरबाट ३ लाख १५ हजार ७२४ दर्शक ले हेरेका छन्। प्रदर्शनको सुरुवातदेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया पाएको फिल्मले बक्स अफिसमा पनि सशक्त उपस्थिति जनाइरहेको छ।
त्यसैगरी, शैक्षिक विषयवस्तुमा आधारित फिल्म ‘रोल नं १’ ले हालसम्म १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कमाइ गरेको छ। उक्त फिल्म हेर्ने दर्शक संख्या ५७ हजार १३२ पुगेको बोर्डले जनाएको छ।
यता, फिल्म ‘कुम्भ’ को व्यापार भने अपेक्षाकृत कमजोर देखिएको छ। बोर्डको तथ्यांकअनुसार फिल्मले ४ लाख २८ हजार ८८५ रुपैयाँ ग्रस आम्दानी गरेको छ भने १ हजार ८१५ दर्शक ले फिल्म हेरेका छन्।
सार्वजनिक तथ्यांकले नेपाली बक्स अफिसमा ‘लालीबजार’को प्रभाव अझै कायम रहेको देखाएको छ। व्यापार र दर्शक दुवैको हिसाबले फिल्म अन्य समकालीन चलचित्रभन्दा निकै अगाडि देखिएको छ।



