काठमाडौं । नेपाली कला क्षेत्रका अग्रज व्यक्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरिएको हो।
चलचित्रको शुभारम्भ मदनकृष्ण श्रेष्ठ र उनका लामो समयका सहयात्री वरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए। चलचित्रले मदनकृष्णको बाल्यकालदेखि कलाकारिताको यात्रासम्मका संघर्ष, उतारचढाव, पारिवारिक जीवन र सफलताका विभिन्न पाटाहरू प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
बायोपिकको निर्देशन निर्देशक मिलन चाम्सले गर्नेछन्। यसअघि ‘अञ्जिला’, ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ जस्ता चर्चित बायोपिक निर्देशन गरिसकेका चाम्सले यो परियोजनालाई आफ्नो करिअरको महत्वपूर्ण चलचित्रका रूपमा लिएको बताएका छन्।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्। साथै चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ।
कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा आधारित चलचित्र बन्न लागेकोमा खुसी व्यक्त गरे। उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै दर्शकले आफ्नो जीवनलाई अझ नजिकबाट बुझ्न सक्ने विश्वास व्यक्त गरे।
वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्णको जीवनकथा नेपाली समाज र कला क्षेत्रका लागि प्रेरणादायी रहेको बताउँदै निर्देशक मिलन चाम्सले चलचित्रलाई न्याय दिने विश्वास व्यक्त गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि बायोपिक निर्माण चुनौतीपूर्ण भए पनि नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण उपलब्धि हुने बताए।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन्। भदौ दोस्रो साताबाट छायांकन सुरु गरिने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
नेपाली चलचित्र इतिहासमा पहिलो पटक कुनै अभिनेताको जीवनमा आधारित बायोपिक निर्माण हुन लागेको भन्दै चलचित्रप्रति दर्शकमाझ विशेष उत्सुकता देखिएको छ।


