काठमाडौं । निर्माणाधीन चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री पूजना प्रधान अनुबन्ध भएकी छन्। छायांकनको ३३औँ दिन चलिरहेका बेला निर्माण पक्षले उनको औपचारिक प्रवेशको घोषणा गरेको हो।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्टका अनुसार कथाले मागेको सशक्त पात्रका लागि उपयुक्त कलाकारको खोजी भइरहेका बेला पूजनालाई चयन गरिएको हो। उनले पूजनाको आगमनले चलचित्रको कलाकार टोली थप मजबुत बनेको बताए।
निर्देशक परिच्छेद सेनको निर्देशनमा निर्माण भइरहेको ‘महाराजधिराज’को छायांकन हाल काठमाडौंका विभिन्न स्थानमा जारी छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन भक्तपुर हुँदै अहिले राजधानी केन्द्रित छ। निर्माण टिमले ७० दिनभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको छ।
सामाजिक परिवेशमा आधारित ‘सोसल पिरियड ड्रामा’ भनिएको यस चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी र सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ।
यस्तै, नीर शाह, विशाल पहाडी, हिउँवाला गौतम, प्रिया रिजाल, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटा पनि चलचित्रको कलाकार टोलीमा आबद्ध छन्।
करिब ८० कलाकारको अभिनय रहने ‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको हो। चलचित्रको कथा तथा पटकथा निर्देशक सेन स्वयंले लेखेका छन् भने छायांकन नवराज थापाले गरिरहेका छन्।चलचित्रका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।


