काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ ले दर्शकमाझ नयाँ अनस्क्रिन जोडी प्रस्तुत गर्ने भएको छ। निर्देशक कपिल रिजालले चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई पहिलोपटक श्रीमान्–श्रीमतीको भूमिकामा उतारेका छन्।
नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय कौशल प्रमाणित गरिसकेका यी दुई कलाकारको जोडीलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ। ‘महापुरुष’ लगायतका चलचित्रबाट लोकप्रिय बनेका अरुण र ‘प्रेमगन्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’बाट चर्चा कमाएकी सिम्रन अब ‘गौँथली’मार्फत फरक कथामा दर्शकमाझ आउँदैछन्।
केही दिनअघि सार्वजनिक गरिएको चलचित्रको भावुक गीत ‘आँखा भरी आँसु’ ले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत थानेश्वरकै रहेको छ भने शब्द डा. भोला रिजालले लेखेका हुन्।
गीत सार्वजनिक कार्यक्रम पनि विशेष रह्यो। कार्यक्रममा अरुण र सिम्रन बेहुला–बेहुलीको भेषमा उपस्थित हुँदा पत्रकार र आमन्त्रित पाहुनाहरूलाई सुखद आश्चर्य मिलेको थियो।
यसअघि सार्वजनिक टिजरले पनि चलचित्रको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयप्रति सकारात्मक प्रतिक्रिया बटुलेको छ। निर्देशक कपिल रिजालका अनुसार दर्शकले चलचित्रले उठाएको संवेदनशील विषय र पात्रहरूको जीवन संघर्षलाई मन पराइरहेका छन्।
निर्माण टिमका अनुसार ‘गौँथली’ शब्दले घर, परिवार, सम्बन्ध र आत्मीयताको प्रतीकात्मक अर्थ बोकेको छ। चलचित्रले पारिवारिक सम्बन्ध, भावनात्मक उतारचढाव र जीवनका चुनौतीलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नेछ।
चलचित्रमा अरुण र सिम्रनसँगै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद लेखन निर्देशक कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने सरला रिजाल कार्यकारी निर्माता रहेकी छन्।
चलचित्रलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा एलिस कार्कीको पाश्र्व संगीत रहेको छ।
रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने ‘गौँथली’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
उल्लेखनीय कुरा के छ भने, ‘गौँथली’ नाममै डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति चलचित्र’ (म्युजिकल फिल्म) मानिन्छ। अहिले सोही नामलाई नयाँ पुस्ताको दृष्टिकोणबाट पुनः जीवन्त बनाउने प्रयास निर्देशक डा. कपिल रिजालले गरेका हुन्।


