काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को अन्तिम खेलमा इक्वेडरले बलियो प्रतिद्वन्द्वी जर्मनीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
न्युजर्सी स्टेडियममा सम्पन्न खेलमा जर्मनीले सुरुवातमै अग्रता लिए पनि इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै बहुमूल्य तीन अंक हात पार्यो। यसअघि लगातार दुई खेल जितेर अघिल्लो चरणमा पुगिसकेको जर्मनी भने हारका बाबजुद ६ अंक र उत्कृष्ट गोल अन्तरका आधारमा समूह विजेता बन्न सफल भयो।
इक्वेडरका लागि भने यो खेल ‘गर या मर’ को अवस्था थियो। पहिलो दुई खेलमा कोट डिभ्वार र कुरासाओविरुद्ध गोल गर्न नसकेको टोलीलाई नकआउट चरणमा पुग्न जित अपरिहार्य थियो।
खेलको दोस्रो मिनेटमै जर्मनीले अग्रता बनायो। फ्लोरियन विर्ट्जको आकर्षक पासमा लेरोय सानेले पेनाल्टी क्षेत्रभित्रबाट गरेको सट गोलमा परिणत गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए। यो गोल विश्वकपमा सन् १९३४ पछि जर्मनीले गरेको सबैभन्दा छिटो गोलका रूपमा पनि दर्ज भयो।
तर इक्वेडरले दबाबमा नपरी उत्कृष्ट प्रतिक्रिया दियो। नवौं मिनेटमा पाब्लो विटेले जर्मनीको क्षेत्रमा बल खोसेर दिएको पासलाई निलसन एन्गुलोले डिबक्स बाहिरबाट शानदार प्रहार गर्दै बराबरी गोल फर्काए। जारी विश्वकपमा इक्वेडरको यो पहिलो गोल पनि बन्यो।
दोस्रो हाफको सुरुवातमा जर्मनीले पेनाल्टीको अवसर पाए पनि भिडियो सहायक रेफ्री (VAR) को समीक्षापछि निर्णय उल्टियो। रेफ्रीले सुरुमा पेनाल्टी दिए पनि पुनरावलोकनपछि लेरोय सानेले पाब्लो विटेमाथि फाउल गरेको देखिएपछि पेनाल्टी रद्द गरिएको थियो।
खेलको ७७औँ मिनेटमा इक्वेडरले निर्णायक गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। कर्नरबाट आएको बललाई वैकल्पिक खेलाडी केभिन रोड्रिगेजले हेडमार्फत अगाडि बढाएपछि गोन्जालो प्लाटाले गोलरक्षक मानुएल नोयरभन्दा अघि पुगेर उत्कृष्ट फिनिसिङ गरे। प्लाटाको यही गोल इक्वेडरका लागि ऐतिहासिक जितको आधार बन्यो।
यस नतिजासँगै इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै राउन्ड अफ ३२ मा प्रवेश गर्न सफल भएको छ। समान ६ अंक जोडेको कोट डिभ्वार गोल अन्तरका आधारमा समूह उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको छ भने जर्मनी समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।


