काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको निर्णायक खेलमा जापानले स्वीडेनसँग १–१ को बराबरी खेल्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलास स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जापानलाई अर्को चरण पुग्न कम्तीमा एक अंक आवश्यक थियो, जुन उसले बराबरीसँगै हासिल गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जापानले ५६औँ मिनेटमा अग्रता बनाएको थियो। दाइजेन माएदाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई १–० को अग्रता दिलाए र जापानलाई नकआउट चरण नजिक पुर्याए।
तर स्वीडेनले छिट्टै खेलमा पुनरागमन गर्यो। खेलको ६२औँ मिनेटमा एन्थोनी एलाङ्गाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि स्वीडेनले जित निकाल्न लगातार आक्रमण गरे पनि जापानको सुदृढ रक्षापंक्तिले थप गोल हुन दिएन। निर्धारित समयसम्म दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गियो।
यस नतिजासँगै जापान आवश्यक एक अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो। यता, ४ अंक जोडेको स्वीडेन पनि अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ।


