काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’ले आफ्ना मुख्य पात्रहरूलाई केन्द्रमा राख्दै पाँचवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएका पोस्टरले चलचित्रको कथा, पात्र र उनीहरूबीचको सम्बन्धबारे रोचक संकेत दिएका छन्।
निर्माण टिमले एकैपटक सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू फरक–फरक भाव र परिवेशमा प्रस्तुत भएका छन्। पोस्टरले प्रेम, परिवार, सामाजिक सम्बन्ध र संघर्षलाई चलचित्रको मुख्य विषयवस्तुका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ।

एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा प्रेमिल मुद्रामा देखिएका छन्। उनीहरूको आत्मीय प्रस्तुतिले चलचित्रमा रोमान्टिक कथाले विशेष स्थान पाएको संकेत गर्छ।
अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ। उनीहरूसँग जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिएकी छन्। पोस्टरले पारिवारिक आत्मीयता, हास्य र भावनात्मक सम्बन्धलाई उजागर गरेको छ।
त्यस्तै अर्को पोस्टरमा मुकुन भुसाल, श्रीकृष्ण निरौला र मेनुका माझी गम्भीर भावमा प्रस्तुत भएका छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण र सहरी परिवेशको मिश्रण देखिएकाले चलचित्रले समाजका विभिन्न तह र परिवेशको कथा भन्ने अनुमान गर्न सकिन्छ।

निर्माण पक्षका अनुसार ‘लज्जावती’ले प्रेमकथामात्र होइन, समाजका विविध आयाम, पारिवारिक सम्बन्ध, मानवीय संवेदना र जीवनका संघर्षलाई पनि पर्दामा उतार्ने प्रयास गरेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेका छन्। दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने ‘लज्जावती’ले पोस्टर सार्वजनिकसँगै दर्शकमाझ उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ।


