काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोइ’ को दोस्रो पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा सुरु भएको छ। आगामी असोज १६ गते विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्मले शुक्रबार सार्वजनिक गरेको पोस्टरमा चर्चित हास्य कलाकार नारायण त्रिपाठीलाई निकै फरक र चकित पार्ने अवतारमा प्रस्तुत गरिएको छ।
‘प्रेम चरो’ उपनामले परिचित त्रिपाठी लामो समय नेपाली चलचित्रमा सक्रिय रहे पनि करिब डेढ दशकअघि अमेरिका गएपछि अभिनयबाट टाढिएका थिए। अब भने उनी यही फिल्ममार्फत पुनः नेपाली रजतपटमा फर्किएका छन्।
सार्वजनिक पोस्टरमा त्रिपाठी अर्धनग्न अवस्थामा देखिएका छन्। अनुहारभरि चोटपटकका डाम, च्यातिएको लुगा र कुटपिटबाट जोगिँदै भागिरहेको जस्तो दृश्यले उनको पात्रबारे दर्शकमा कौतुहलता बढाएको छ। पोस्टरले उनी फिल्ममा फरक र चुनौतीपूर्ण भूमिकामा देखिने संकेत गरेको छ।
यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरले पनि सकारात्मक प्रतिक्रिया पाएको थियो। दोस्रो पोस्टरमा भने त्रिपाठीसँगै फिल्मका मुख्य कलाकार सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रामनारायण उपाध्याय, सुदीप कुँवर र उमेश राईलाई पनि समेटिएको छ।
फिल्ममा प्रेमदेव गिरी, रविन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह र रितु मल्ल ठकुरीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
प्रदर्शनअघि आगामी अगस्ट ९ मा अमेरिकाको टेक्सासमा फिल्मको विशेष प्रदर्शन (स्पेसल शो) आयोजना गरिने निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा निर्देशक एभरेष्ट सूर्य बोहरा स्वयंले लेखेका हुन् भने पटकथा तथा संवादमा शिवम् अधिकारीले सहकार्य गरेका छन्।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। कार्यकारी निर्मातामा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोड्युसर हुन्।
सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, यमप्रसाद ओली र प्रदीपकुमार सापकोटा सह-निर्माताका रूपमा आबद्ध रहेको यो फिल्म मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो।
फिल्मको देशव्यापी वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ। निर्देशक बोहराले एक्सन, कमेडी र सामाजिक कथाको संयोजनमा तयार भएको ‘चमेलीको पोइ’ले दर्शकलाई नयाँ स्वाद दिने विश्वास व्यक्त गरेका छन्।


