काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’ले प्रदर्शनको सफल ५१औँ दिन मनाउने भएको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले आज शनिबार ५१ दिन पूरा गर्ने अवसरमा कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न प्रदर्शनरत सिनेमाघर पुग्ने भएका छन्।
यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा उल्लेखनीय सफलता हासिल गर्ने फिल्म बनेको छ। घरेलु बक्स अफिसमा चलचित्रले ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने अब १० करोड क्लबमा प्रवेश गर्ने तयारीमा रहेको निर्माण पक्षको दाबी छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन यम थापाले गरेका हुन्। यसअघि यही ब्यानरले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ।
चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ।
यही चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गरेका छन्। विशाल रंगमञ्चका सक्रिय कलाकार हुन् भने प्रशंसा नयाँ पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन्।
चलचित्रको कथा, पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन्।
लगातार दर्शकको साथ पाइरहेको ‘लालीबजार’ले ५१औँ दिन मनाउन सफल भएसँगै नेपाली चलचित्र बजारमा आफ्नो व्यावसायिक सफलता थप मजबुत बनाएको छ।



