काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को अन्तिम खेलमा कोलोम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन्। मियामी स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन।
पहिले नै नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान सुरक्षित गरिसकेका यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक रह्यो। खेलको अन्तिमतिर कोलोम्बियाले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (VAR) को निर्णयले जितबाट वञ्चित हुनुपर्यो। डेभिन्सन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको पासलाई हेडमार्फत जाली चुमाए पनि अफसाइड ठहर भएपछि गोल मान्यता पाएन।
दोस्रो हाफमा कोलोम्बियाका लुइस सुआरेजले दुई उत्कृष्ट अवसर सिर्जना गरे पनि पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले शानदार बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए। यता पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेसले पनि गोलको प्रयास गरे तर कोलोम्बियाको रक्षापंक्ति भेदन गर्न सकेनन्।
बराबरीसँगै पोर्चुगल समूहको दोस्रो स्थानमा सीमित रह्यो भने कोलोम्बियाले शीर्ष स्थान कायम राख्न सफल भयो।
यसै समूहको अर्को खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगोले उज्वेकिस्तानलाई ३–१ ले हराउँदै ऐतिहासिक उपलब्धि हासिल गर्यो। सुरुआती गोल खाएपछि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको कंगोका लागि फिस्टन मायेलेले ७८औँ मिनेटमा अग्रता दिलाए भने इन्जुरी समयको पहिलो मिनेटमा योआने विसाले तेस्रो गोल गर्दै जित पक्का गरे।
विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणमा पुगेको कंगोले अब अन्तिम ३२ मा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। पराजित उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ।


